काठमाण्डाैँ । आगामी २०७९ मंसिर ४ गतेको निर्वाचनपछि नेपालले ४० औँ प्रधानमन्त्री पाउनेछन् । प्रधानमन्त्रीमा नयाँ प्रधानमन्त्री भन्दा पनि पुरानै प्रधानमन्त्रीको दाबादब देखिन्छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल (प्रचण्ड) प्रधानमन्त्रीको लागि निकै सक्रिय देखिन्छन् । उनी मात्र होइनन् काँग्रेसका सभापति शेर बहादुर देउवा पनि प्रधानमन्त्रीका अर्का आकंक्षी हुन् । 
प्रधानमन्त्रीमा निर्वाचित भई फेरी नयाँ हैकमका साथ राज गर्ने शोक नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद शर्मा आली अर्थात केपी ओली पनि छन् । यी तीनै जना प्रधानमन्त्री बन्ने दौडधूपमा छन् ।
प्रचण्ड, देउवा र ओली मात्रै होइनन् । अहिले ६ जना पूर्व प्रधानमन्त्रीहरु सक्रिय राजनीतिमा छन् । झलनाथ खनाल, माधव कुमार नेपाल र बाबुराम भट्टराई पनि सक्रिय राजनीतिमा छन् । तर उनीहरुको आगामी निर्वाचन कति सहज र कति पेचिलो छ भन्ने कुरा अहिले राजनीतिक बृत्तमा चर्चाको विषय भएको छ । यी ६ पूर्व प्रधानमन्त्रीहरुमध्येबाटै नयाँ प्रधानमन्त्री बन्ने सम्भावना छ । आगामी निर्वाचनमा को कहाँबाट निर्वाचित हुन्छन् ? भन्ने प्रश्न पनि उतिकै छ । यस अघिको संसदीय र गत बैशाखको स्थानीय निर्वाचनका आधारमा उहाँहरु कति सुरक्षित छन् ? आउनुहोस् मूल्यांकन गरौँ ।
६ पूर्व प्रधानमन्त्रीहरु को कहाँ सुरक्षित छ. ?
शेर बहादुर देउवा
देशमा प्रजातन्त्र आएपछिको लगातार ६ वटा निर्वाचनमा डडेलधुराबाट जितेका देउवा यस पटक पनि डडेलधुराबाटै निर्वाचन लड्ने पक्कापक्की भइसकेको छ । यस पटकको निर्वाचनमा पनि उनी सुरक्षित छन् ।

उनी वि.स. २०७४ सालको निर्वाचनमा तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले एकै ठाउँमा उभिदा पनि उनी पराजित हुन सकेन ।
तत्कालिन गठबन्धनको उम्मेदवार खगराज भट्टले २१४९८ मत ल्याएको थियो भने शेर बहादुर देउवाले २८४४६ मत ल्याएका थिए । माओवादी र एमाले दुवै मिलेर चुनाव लड्दा समेत उनले ७ हजार मतले विजयी भएका छन् । यसरी हेर्दा उनी अहिले निकै सुरक्षित छन् । गत स्थानीय निर्वाचनमा समेतलाई विश्लेषण गर्ने हो भने पनि उनी सुरक्षि देखिन्छन् ।
गत स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसको मत राम्रो छ । गत स्थानीय तहको निर्वाचनमा काग्रेसले २९ वडा माओवादीले १३ र एमालेले ४ वडा जितेको थियो । स्थानीय तहको मतभार हेर्ने हो भने कांग्रेसको २२ हजार, माओवादीको १४ र एमालेको ७ हजार मत देखिन्छन् । काँग्रेसको जिल्ला सभापति विद्रोह गरी काँग्रेस विपीमा जादा समेत डडेलधुरामा काँग्रेसको मतमा केही फरक पारेको देखिदैनन् ।
यसरी २०७४ को संसदीय निर्वाचन र २०७९ को स्थानीय निर्वाचनको आधार हेर्दा पनि काँग्रेसको पाल्लाभारी देखिन्छ । डडेलधुरामा फेरी पनि देउवाले चुनाव लड्दा देउवा सुरक्षित देखिन्छन् ।
केपी शर्मा ओली
प्राय उखान टुक्का र केही अस्वभाविक कुराहरुले ट्रोलको पात्रा बनेका निवर्तमान प्रधानमन्त्री केपी ओली गत २०७४ को संसदीय निर्वाचनमा झापाबाट भारी मतान्तरले विजयी भएका थिए ।
संसदीय राजनीतिमा दुइतिहाई नजिकको बहुमत सांसदको साथ रहेको पार्टीमा उनी प्रधानमन्त्री पद आफ्नै पार्टीका नेताहरुले संसद विघटन गरेको आरोपमा खोसिएको थियो ।

गत २०७४ को निर्वाचनमा उनले झापा क्षेत्र नं ५ मा माओवादी र एमालेको गठबन्धनको सहयोगको उनले ५७१३९ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २८२९७ मत पाएका थिए । प्रतिद्वन्द्वीलाई दोब्बर मतले पराजित गरेका ओली यो पटक पनि सुरक्षित देखिन्छ ।
गत स्थानीय तहको निर्वाचनको विश्लेषण गर्ने हो भने पनि ओलीलाई चुनाव जित्न त्यति गाह्रो देखिदैन । गत स्थानीय तहको निर्वाचनमा एमालेले ४१६१९ कांग्रेस, २२०२१, माओवादी १०७८८, राप्रापा ८ हजार र एकिकृत समाजवादी १८६० मत ल्याएमा छन् । यसरी हेर्दा पनि ओली सुरक्षित नै देखिन्छ । ओलीको निर्वाचन क्षेत्रमा दकम नगरपालिका, कमल गाउँपालिका, गौरदह नगरपालिकाका ८ वडा र गौरीजञ्ज नगरपालिकाका ४ वडाहरु पर्दछन् । कुल २९ वडा पर्ने यस निर्वाचन क्षेत्रमा वडा अध्यक्षले पाएको मतको आधारमा यस पटक एमालेकै पाल्लाभारी देखिन्छन् ।
माधव कुमार नेपाल
२०७४ मा काठमाण्डौ २ बाट माधव कुमार नेपाल निर्वाचित भएका थिए । गत बैशाखमा भएका स्थानीय निर्वाचनमा पार्टी कमजोर देखिएपछि माधव कुमार नेपाल पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन् ।

उनी यस पटकको निर्वाचनमा रौतहट १ बाट निर्वाचन लड्दैछन् । रौतहट १ को निर्वाचन क्षेत्रमा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधव नारायण नगरपालिका, दुर्गाभगवती पाउँपालिका, यमुना गाउँपालिका र गडीमाइ नगरपालिका ३ वडा र गरुडा नगरपालिकाको १ वडा पर्दछ ।
गत स्थानीय निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा एक्लै वा गठबन्धन गरेर पनि उनी सुरक्षित देखिन्छ ।
उनको क्षेत्रमा गत स्थानीय निर्वाचनमा एकिकृत समाजवादीले १७, काग्रेसले ९ माओवादीले ५, एमाले र लोसपाले ३ र स्वतन्त्रले १ वडा जितेका छन् । यसरी हेर्दा उनी यस पटक रौतहट १ मा सुरक्षित देखिन्छन् ।
पुष्पकमल दाहाल प्रचण्ड
नेपाली राजनीतीका पछिल्लो दशकको खेलाडीको रुपमा चिनिने पुष्पकमल दाहाल "प्रचण्ड" चितवनबाटै निर्वाचन लड्दैछन् । दुई पटकसम्म प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसको भर पर्नुपर्ने देखिन्छन् ।
२०७४को निर्वाचनमा एमालेसंगको गठबन्धनमा चितवन ३ बाट निर्वाचत भएका दाहाल स्थानीय तहको निर्वाचनको मतपरिणामले गठबन्धन आवश्यक रहेको देखाउछ ।
२०७४ मा प्रचण्डले ४८२७६ मत ल्याएका थिए ।
प्रचण्डसंग एमालेको गठबन्धन थियो भने काँग्रेससंग राप्रापाको गठबन्धन रहेको थियो । विक्रम पाण्डे काग्रेस राप्रापाको उमेदवारले ३८९३५ मत पाएका थिए । ९ हजार मतान्तरले विजयी भएका प्रचण्डलाई यस पटकको स्थानीय तहको निर्वाचनमा उनको पार्टीले कम मत ल्याएको देखिन्छ । उनलाई यस पटक चुनाव लड्न त्यति सजिलो भने देखिदैन ।
झलनाथ खनाल
२०७४को निर्वाचनमा इलाम क्षेत्र नं १ मा माओवादी र एमालेको गठबन्धनमा दोब्बर भन्दा बढी मत ल्याएर विजयी भएका झलनाथ खनाल यस पटक पनि उनी त्यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दैछन् ।

२०७४ मा उनले ३६८०५ र काग्रेसका भुपेन्द्र कट्टेलले १७१६७ मत ल्याएका थिए । अहिले उनको निर्वाचन क्षेत्रमा सुर्यदय नगरपालिका, रोङ, माइजोगमाइ, सन्दकपुर गाउँपालिका, यस्तै इलाम नगरपालिकाको १० वडा र माइ नगरपालिकाको ७ वडा गरी ३९ वडा पर्दछ ।
३९ वडामा गत बैशाखको निर्वाचनको तथ्यांक हेर्ने हो भने विना गठबन्धन जीत निकाल्न सजिलो देखिदैनन् । गत बैशाखको निर्वाचनमा नेपाली काग्रेस, १९, एमाले १५, एकिकृत समाजबादी ६ जसपा १ र स्वतन्त्रले १ वडा जितेको थियो । यसरी हेर्दा उनी विना गठबन्धन जीत निकाल्न मुस्किल देखिन्छन् ।
बाबुराम भट्टराई
६ पूर्व प्रधानमन्त्रीहरुमध्ये निकै पेचिलो चुनाव लड्नेहरुमा प्रचण्ड, झलनाथ खनालपछि बाबुराम भट्टराई देखिन्छन् । प्रचण्डलाई भन्दा बढी चुनौती खनाललाई देखिन्छन् भने खनाललाई भन्दा पनि बढी चुनौती भट्टराईलाई देखिन्छन् ।

भर्खरै नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराईलाई यो पटकको निर्वाचन फलामको चिउरा सरह हुने देखिन्छन् । यो उनको कठोर परिक्षा पनि हुने देखिन्छन् । २०६४ पहिलो संविधानसभाको निर्वाचनमा निकै फराकिलो मतन्तरले विजयी भएका भट्टराई २०७४ को प्रनिनिधी सभाको निर्वाचनमा कांग्रेसको सहयोगमा माओवादी एमालेको साझा उमेदवारलाई ६ हजार भन्दा बढी मतान्तरले पराजित गराएका थिए ।
उनको निर्वाचन क्षेत्रमा पालुङटार नगरपालिकाका १० वडा, सिरानचोक गाउँपालिकाका ८ वडा, अजिरकोट गाउँपालिकाका ५ वडा, बारपाक सुलिकोट गाउँपालिकाका ८ र गोरखा नगरपालिका ७ वडा सहित ३८ वडा पर्दछ । २०७९ बैशाखमा भएको निर्वाचनमा यी वडाहरुको मतलाई हेर्दा उनको पार्टी सबैभन्दा पछि परेको देखिन्छ ।
यी ३८ वडामा माओवादीले,२१८५५ काँग्रेसले २१०९६, एमाले ७९२६ र जसपाले ७ हजार मत लाएको देखिन्छ । यसरी यी वडाहरुको विश्लेषण गर्दा भट्टराईलाई निर्वाचन कठिन हुने देखिन्छ । तर उनी अहिले माओवादीको चुनाव चिन्हमा चुनाव लड्दैछन् । माओवादीको साथ लिएर उनी संसदमा फेरी कमब्याक हुने निश्चित जस्तै छन् ।
२०७४को प्रतिनिधी सभाको निर्वाचन र २०७९को स्थानीय तहको मतभारलाई विश्लेषण गर्ने हो भने पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, माधब कुमार नेपाल र केपी ओलीलाई आगामी मंसिर ४ मा हुने निर्वाचनमा जित निकाल्न सहज देखिन्छन् । यी तीन जना पूर्व प्रधानमन्त्रीलाई निर्वाचन सहज र सजिलो देखिन्छन् भने पूर्व प्रधानमन्त्रीहरु पुष्प कमल दाहाल प्रचण्ड, झलनाथ खनाल र बाबुराम भट्टराईलाई निर्वाचनमा एक्लै जित निकाल्न मुस्किल देखिन्छन् ।