एमालेले प्रायः जसो अन्य कम्युनिष्ट पार्टीलाई दक्षिणपन्थीको संज्ञा र आरोप बेला बेलामा लगाउने गरिन्छ । कुनै मोर्चामा साथ वा विरोध गरेको खण्डमा यो आरोप अन्य दललाई लगाउने यो दल अहिले भने आफै दक्षिणपन्थी दलसंग साठगाठ गर्दैछ ।
काठमाण्डौँ । सत्ता गठबन्धन टिकट बाडफाडको रस्साकस्सीमा लागिरहदा प्रमुख प्रतिपक्ष नेकपा एमाले गठबन्धनलाई कमजोर पार्ने रणनितिमा छ । सत्ताधारी गठबन्धनसंग जुम्न कुनै पनि हालतमा विपक्षी मोर्चा बनाउनुपर्ने बाध्यतामा रहेको एमाले बाम दलसंग तालमेल गर्न सफल नभएपछि आफ्ना सिद्धान्त विपरित दक्षिणपन्थी शक्तिसंग सहकार्य गर्न पुगेको केही घटनाक्रमले देखाउछ ।
चुनावको मिति नजिकिदै जादा सत्ताधारी गठबन्धन अहिले सिटबाडफाटको जोड घटाउमा केन्द्रित छ । ठोस कुरा नमिल्दा बेला बखत माओवादी केन्द्रका अध्यक्ष सहित शिर्ष नेता काँग्रेस लचकता नबने बाम गठबन्धन गरेर भएपनि चुनावमा जान सकिने धम्की दिइरहेका छन् ।
तर धेरैले यसलाई गठबन्धनभित्र मोलमोलाईकै रुपमा बुझेका छन् । र सत्ता गठबन्धन यथास्थितिमा मिलेरर चुनावमा गए एमालेका निम्ति ठूलै चुनौती हुनेछ । त्यसैले गठबन्धनलाई टक्कर दिन बैकल्पिक मोर्चा बनाउनुपर्ने बाध्यता गत सोमबार महासचिव शंकर पोखरेलको अभिव्यक्तिे पुष्टि गर्छ ।
उनले भनेका थिए,‘‘गठबन्धनको सन्दर्भमा हाम्रो चाँही स्पष्ट निति छ, हामी कुनै प्रकारको गठबन्धनका पक्षमा छैनौँ । हामी आफ्नो नितिका आधारमा निर्वाचनमा प्रस्तुत हुन गइरहेका छौँ,। स्थानीय तहमा तालमेल हुनसक्छ, तालमेलका बारेमा हामी सदैव खुला छौँ । चुनाव आफ्नो नितिका आधारमा लड्नुपर्छ भन्ने मान्नेताको पक्षमा छौँ । यस अर्थमा हामीले कुनै राजनीतिक दलसंग गठबन्धनको कुरा गरेका छैनौँ । चुनावी तालमेलको बारेमा कुरा गरेका छौँ जहाँसम्म देशभक्त, प्रगतिशील बामपन्थीहरुको धु्रवीकरणको कुरा भनेको राजनीतिक ध्रुविकरणको कुरा हो ।’’
उनले भन्न खोजेको कुरा गठबन्धन नभई तालमेलको कुरा हो । यसमा कुनै राजनीतिक दलको कुरा नभई चुनावी तालमेलको कुरा मात्र उल्लेख गरे ।
हुन त आफ्नो नितिसंग मिल्ने र समाजबादको यात्रामा जान चाहनेसंग तालमेल गर्न खुला भने पनि घटनाक्रम भने पनि घटनाक्रम भने ठिक उल्टा देखिन्छन् । किनभने एमाले नेतृत्वका दक्षिणपन्थी र राजतन्त्र पक्षधरसंग हिमचिम बढेको देखिन्छ ।
राजेन्द्र लिङ्देनको राप्रापा, अनि कमल थापा नेतृत्वको राप्रापा नेपाल जस्ता शक्तिसंग तालमेलका लागि वार्तारत रहेको एमाले नेतृत्वसंग गत सोमबार मात्र राजतन्त्रको पक्षमा खुला वकालत गरिरहेका विवेकशील शाझाका पूर्व अध्यक्ष रविन्द्र मिश्रले वार्ता गरेका थिए । मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा भेटेका छन् ।
मिश्रले केही दिन अघि मात्र एक टेलिभिजनमा एमालेसंग सहकार्य गरेर चुनवा लड्ने बताइसकेका छन् । तर एमाले महासचिव पोखरेल भने यसलाई स्थानीय आवश्यकताको उपज भन्छन् । उनले भनेका छन्, ‘‘सहकार्य सहमति कोसंग भनेर तोकिसकेको छैन, छलफलको प्रकृयामा छौँ । स्वभाविक रुपमा नेपाल रहेका राजनीतिक दलहरुसंग नै हुने हो । तालमेलको विषय भनेको पारस्पारिक लाभको विषय होइन । निति र सम्झौताको विषय होइन । निती र सम्झौता कसैसंग गर्दैनौ ।’’
उनेले थपेका छन्, पारस्पारिक लाभ हुने भनेको चुनावमा मात्र हो, तालमेल मात्र हो । नितिगत सम्झौता होइन । यसको अर्थ हो, एमालेले चुनावको लाभ लिन जुनसुकै दलसंग तालमेल गर्छ ।
वाक कटुतामा खपिस एमाले अध्यक्ष ओली सार्वजनिक रुपमा प्रस्तुत हुदाँ बलियो आत्माबलका साथ चुनावमा जान चाहेको देखाउन चाहन्छन् । तर चुनावको मुखमा जेजति शक्तिसंग सहकार्यका लागि हात बढाएका छन्, यसले एमालेको बाध्यत्मक अवस्थाको खुलासा गरेको राजनीतिक विश्लेशकको भनाई छ ।
राजनीतिक विश्लेशक केशब दाहाल भन्छन्, ‘‘सरकार बन्ने मात्र होइन, असाध्यै कमजोर प्रतिपक्षको रुपमा खुम्चिनु पर्यो भने एमालेलाई निकै कष्टको कुरा हो ।’’
अहिले एमाले त्यो परिस्थिति सामाना गर्न तयार छैन र उ जुनसुकै शक्तिसंग सहकार्य गर्न तयार रहेको तर्क दाहालको छ । कमजोर शक्तिमा खुम्चिनुपर्ने दबाबले एमालेलाई पोलिरहेको उनको भनाई छ, उनी भन्छन्, ‘‘अब जोसंग भएपनि मिल्ने चाँहे तयो राप्रापा होस्, चाँहे अर्को शक्ति होस्, चाँहे राजावादी शक्ति होस्, चाँहे त्यो संघियता विरोधी शक्ति होस्, चाँहे त्यो गणतन्त्र विरोधी शक्ति नै किन नहोस्, जे जो भएपनि चुनावमा मिलेर जाने त्यो मनोविज्ञान चाँही एमालेमा देखिन्छन् ।’’
परिस्थितिमा अप्रत्याशित बदलाब नआए सत्ता र प्रतिपक्षका अलग–अलग बन्ने करिब निश्चित देखिन्छ । सत्ता गठबन्धनमा रहेका पाँचै दल एकै ठाउँमा उभिए एमालेका लागि जस्तोसुकै शक्तिसंग घाटी जोड्नुपर्ने बाध्यता हुनेछ ।