रामेछाप । संघर्ष र बलिदानले नै नेपालको व्यवस्था परिवर्त भएको छ । २००७ सालमा नेपाली काँग्रेसले जहाँनीय रानाशासान र २०६३ मा राजसंस्था । यी दुई व्यवस्था परिवर्तनका लागि नेपालमा दुई राजनीतिक दलले ठूलो योगदान, त्याग र बलिदान गरे । त्यो राजनीतिक दल आज नेपालको संविधान जोगान र राष्ट्रियता कायम राख्न एक ठाउँमा उभिएको छ ।
तीनै दल आज गठबन्धन भएर चुनावी मैदानमा उत्रिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र देशको व्यवस्था फेर्नदेखि संविधानको रक्षा र राष्ट्रियता कायम गर्नका लागि एक ठाउँमा उभिएको छ ।
नेपालको राजनीतिक इतिहास र खास खास घटनामा नेपाली राजनीतिक दलले खेल्ने भूमिका सदैव स्मरण र सम्झना लायकका छन् ।
२००७ सालमा काँग्रेसले व्यवस्था वदल्न क्रान्ति गर्यो र सफल पनि भयो । यसमा विपी कोइरालाको योगदान छ । विपीले योगदान गरेको राजनीतिक यात्रा नेपाल र नेपाली जनतालाई अतुलनीय छ । विपीको यो दर्शन र यो सिद्धान्त आज पनि राजनीतिक कर्मीहरुले स्मरण र मनन गरीरहेको छ । यसमा म पनि मान्छु । र विपीलाई आदर्श पात्राको रुपमा लिन्छु पनि । 
विपीले राजसंस्था जस्तै गरी बसेका दोस्रो तहका राजाहरुलाई हटाउने काम गर्यो । अनि माओवादीले राजसंस्थालाई हटाएर जनताको छोरा छोरी देशको प्रमुख बनाउने काम गर्यो । यो सामान्य काम थिएन । आज म राष्ट्रपति जून दलको भएपनि वा जुन लिंग वा सम्प्रदायका भए पनि सम्मान गर्छु । राष्ट्रपति संस्थाको विकास माओवादीले गरेको हो । यो व्यवस्था बदल्नका लागि मेरो पनि योगदान छ ।
साहेद म २००७ साल अघि जन्मेको भए म काँग्रेस बन्थे होला । व्यवस्था बदल्न म २०५२ पछि माओवादी भएँ र आज माओवादीबाट प्रतिनिधित्व गर्नका लागि चुनावी मैदानमा उत्रिएको छु । यसमा काँग्रेसको पनि साथ छ । मलाई खुसी लागेको छ । काँग्रेस र माओवादी खास देशको परिस्थिति परिवर्तन र देशको सर्वभौम रक्षाका लागि एक ठाँउमा उभिरहेको छ ।
म एक किसानको छोरा हो । अहिले पनि मेरो बा र आमा रामेछापको सुनपतिमा निरक्षर जीवन विताइरहनुभएको छ । बुढो बाले आज पनि हलो जोत्दै हुनुनुन्छ । आमाले त्यही मेलापात छोड्नु भएको छैन ।
देश बदल्न एउटा किसानले आफ्नो छोरालाई युद्धमा पठाउनुभयो । त्यसैले म व्यवस्था बदल्न बन्दुक बोके, देशले मुहार फेरियो ।
हो, देशले व्यवस्था त बदल्यो तर अवस्था बदल्न सकेन । मैले अघि नै भने मेरो बाआमा आज पनि हलो कुटो कोदालो गरिरहनुभएको छ । अवस्था बदलिएको भए नयाँ प्रविधीको प्रयोग मेरो बाआमाले पनि गर्थ्यो होला । तर अवस्था उस्तै छ । बदलेको छैन । म अवस्था बदल्नका लागि रामेछापको प्रदेश ‘ख’बाट प्रदेशसभाको उम्मेदवारी दिएको छु । मलाई आशा छ रामेछापको जनताले मलाई न्याय दिलाउने छ । म र मेरो पार्टीले गठबन्धनलाई भोट हाल्ने निर्णय गरिसकेको छ । अनि रामेछापमा तमाम जनताले म र मेरो गठबन्धनका उम्मेदवारीलाई मत दिनुहुनेछ ।
जीत सुनिश्चित छ किने भने काँग्रेसका साथीहरुले हसियाँ हथौडा चिन्हमा भोट हाल्ने छ भने माओवादीका साथीहरुले रुखमा भोट हाल्नुहुनेछ । संघर्ष र बलिदानबाट परिवर्तन भएको व्यवस्थालाई सुधार गर्नका लागि जनताको भावना र चाहानाअनुसार काम गर्नेछु । जनमतको उच्च मूल्यांकन गरी रामेछापलाई सम्बृद्ध बनाउनका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकासमा कुनै पनि कन्जुस्याई नगरीकन दत्तचित्त भई लाग्नेछु ।
(निर्वाचन कार्यालय मन्थलीमा उम्मेदवारी दर्तापछि कोणसभामा सम्बोधन गर्नेक्रममा ब्यक्त मन्तब्यमा आधारित)–सम्पादक