रामेछाप । दोरम्बा प्राकृतिक साँस्कृतिक हिसाबले निकै धनी छ । राजनीतिक तथा वैचारिक हिसाबले पनि दोरम्बा निकै भिन्न छ । दोरम्बाको राजनीतिक पृष्ठभूमी दोरम्बामा भएको दोरम्बा काण्ड (दोरम्बा हत्याकाण्ड) पछि निकै परिवर्तन भयो । स्थानीय सरकारको नेतृत्व फेरियो ।
दोरम्बामा २०६० साल साउन ३२ गते भएको युद्ध अपराधमा परि २१ जनाको सामुहिक हत्यापछि दोरम्बाका जनता न्याय पाउन सकिरहेको छैन । राज्यपक्षबाट भएको यो हत्याकाण्डपछि नेपालमा फेरी युद्ध सुरु भयो ।
दाङको हापुरेमा दोस्रो शान्ति वार्ता भइरहेको बेलामा दोरम्बा हत्याकाण्ड भएको हो । अहिले दोरम्बाका ती पीडितहरु हरेक साउन मसान्तमा हत्याकाण्डा स्थल डडुवाको डाँडाकेटेरीमा पुग्छन् । आफन्त सम्झन्छन् । र टाटा बसेको घाँउ कोट्याउछन् र न्याय नलिइकनै फेरी घर फर्कन्छन् ।
यो क्रम विगत १९ बर्षदेखि निरन्तर चलिरहेको छ । नेपालको माओवादी आन्दोलनको उर्वरा भूमीको रुपमा रहेको दोरम्बा आज त्यही आन्दोलनको नेतृत्व गर्ने नेतृत्वले आश्वासन र आशा बाहेक अरु दिन नसकेको पीडितहरुको भनाई छ ।
उनीहरुको माग विगत १९ बर्षदेखि थाति रहेको छ । दोरम्बा हत्याकाण्डमा भएको अमानवीय व्यवहार वा युद्धअपराधलाई अन्तराष्ट्रियकरण गरी न्यायका लागि विभिन्न निकाय लागि नपरेको पनि होइन तर नेपालमा कानुनी कार्बाही र कानुनी कार्वाहीको दायरा पहुँच भन्दा पर र राज्यशक्तिको चरम दुरुपयोगले दोरम्बा काण्डका पीडितले न्याय नपाएको हो ।
यो शास्वत सत्यलाई दोरम्बा जनताले सहन गर्नुभन्दा अरु केही देखिदैनन् । शान्ति प्रकृयापछि २०६४ साल यताको सबै निर्वाचनमा दोरम्बाले आफ्नो मत न्यायका लागि प्रयोग भएपनि न्याय नपाएको गुनासो नयाँ होइनन् । यो २०६० सालमा दोरम्बा काण्ड भएपछिको गुनासो हो ।
तर यही क्षेत्रबाट बारम्बार निर्वाचित सांसदले नै दोरम्बाबासीको पीडा नबुझेको बुझाई पीडितलाई छ ।
यो घटनाको छानबिन अन्तराष्ट्रिय मानवअधिकारबादी संस्था एमनेष्टि इन्टरनेसनलले दुई चरणमा गरिएको थियो । यी दुई चरणमा गरिएको अनुसन्धानमा राज्यपक्षले अपराध गरेको पुष्टि गरिए पनि राज्यशक्तिको दुरुपयोग गर्दै कार्बाही हुन सकेन ।
यता सत्य निरुपण तथा बेपत्ता आयोगले काम गर्न नसक्नु अर्को पाटो हो । दोरम्बा हत्याकाण्डमा न्यायको माग गर्दै २०७३ जेष्ठ २७ गते उजुरी गरिएपनि सत्य निरुपण तथा बेपत्ता आयोगले कामै गर्न नसक्दा झन उनीहरु न्याय पाउनबाट बन्चित भइरहेका छन् ।
यसरी न्यायका लागि भौतारिरहेको दोरम्बाबासीलाई साउन मसान्त निके नहुने खिल पसकेको घाउँ जस्तै बारम्बार दुखिरहेका छन् ।